एनपीएल खेल्न डेभिड वार्नर आइतबार नेपाल आउने

अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आइतबार नेपाल आइपुग्ने हुनुभएको छ। उहाँसँग अनुबन्ध गरेको फ्रेन्चाइज काठमाडौँ गोर्खाजले वार्नर नोभेम्बर १ अर्थात् कात्तिक १५ गते आइपुग्ने जानकारी दिएको छ। फ्रेन्चाइजले वार्नरको आगमनपछि टोलीको प्रदर्शन बलियो हुने अपेक्षा लिएको छ।
वार्नर नआइपुगेकाले काठमाडौँले बिहीबार जनकपुर बोल्ट्सविरुद्धको पहिलो खेल उहाँबिनै खेलेको छ। अस्ट्रेलियाली अलराउन्डर विल बोसिस्टो पनि उक्त खेलमा उपलब्ध हुनुभएन। कप्तान करण केसीको नेतृत्वमा उत्रिएको काठमाडौँले विदेशी खेलाडीका रूपमा अस्ट्रेलियाका साम हेजलेट, अमेरिकी विकेटकिपर स्मित पटेल, बंगलादेशका रिपोन मोन्डोल र पाकिस्तानका जहानदाद खानलाई खेलाएको छ।
उता जनकपुरले न्युजिल्यान्डका अलराउन्डर जिमी निशमलाई बेन्चमा राखेको छ। निशम व्यक्तिगत कारणले नखेल्ने कुरा कप्तान हरमीत सिंहले टसका बेला बताउनुभएको छ। उहाँको ठाउँमा बंगलादेशका सैफ हसनले मौका पाउनुभएको छ भने आदित्य महतोको सट्टा अमरसिंह रौटेला टोलीमा पर्नुभएको छ।
वार्नरविनाको काठमाडौँ उक्त खेलमा ११५ रनमा अलआउट भएको छ। आठ टोली सहभागी तेस्रो संस्करणको एनपीएल मङ्सिर ५ गतेसम्म चल्नेछ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


