एसियाडका लागि क्रिकेट टोली जापान रवाना, पदकको लक्ष्य

एसियाली खेलकुदको बीसौँ संस्करणमा सहभागी हुन जापान जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ। काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा शनिबार आयोजित कार्यक्रमबीच राखेपका सदस्यसचिव रामचरित्र मेहता र नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्कालगायतले टोलीलाई बिदाइ गर्नुभएको हो। कप्तान दीपेन्द्रसिंह ऐरीले स्वर्ण पदककै लक्ष्यसहित टोली जापान जान लागेको र त्यो नभए पनि पदक लिएर फर्कने सोच रहेको बताउनुभयो।
मलेसियामा हालै भएको प्रतियोगितामा देखिएको लयले पदकको आशा बढेको र कुशल भुर्तेल तथा आसिफ शेखसहित अधिकांश खेलाडी फर्ममा रहेको उहाँको भनाइ छ। प्रशिक्षक स्टुअर्ट लले टोली सङ्ख्या पुर्याउन मात्र नगएको उल्लेख गर्दै राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभएको छ। समूह चरणमा नेपालले अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ।
समूह विजेता भए क्वार्टरफाइनलमा श्रीलंका र उपविजेता भए भारतसँग भिडन्त हुनेछ। नेपाली क्रिकेट टोलीले चौथोपटक एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न लागेको हो भने हालसम्म क्वार्टरफाइनलसम्मको यात्रा गरेको छ। टोलीमा सन्दीप लामिछाने र रोहितकुमार पौडेलसमेत छन्।
एनपीएलमा डेविड वार्नरजस्ता चर्चित खेलाडीको सहभागिताले नेपाली क्रिकेटलाई थप उचाइ दिने कप्तान ऐरीको विश्वास छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

