चाडपर्वमा पनि न्युरोडमा व्यापार सुस्त, व्यवसायी चिन्तित

काठमाडौँको न्युरोडका व्यवसायीहरूले यस वर्ष दसैँ–तिहारमा समेत अपेक्षित व्यापार नभएको बताएका छन्। उनीहरूका अनुसार विगतमा चाडपर्वको एक–डेढ महिनाको कारोबारले छ महिनासम्मको खर्च धान्ने गर्थ्यो। यस वर्ष बैंकको ब्याज, घरभाडा, कर्मचारीको तलब र उधारो हिसाब मिलाउन कठिन हुने उनीहरूको भनाइ छ।
कोरोना महामारीपछि व्यापार खस्किँदै गएकाले चार–पाँच वर्षदेखि आर्थिक दबाब झेलिरहेको व्यवसायीहरूले बताएका छन्। व्यापारी रविन्द्रकुमार बोहोराले चाडपर्वको व्यापार नाफाभन्दा पनि वर्षभरिको हिसाब मिलाउने आधार भएको बताउनुभएको छ। महामारीपछि बैंकको ब्याजदर करिब १५ देखि २० प्रतिशतसम्म पुग्दा पनि घरभाडा र ब्याजमा कुनै राहत नपाएको उहाँको गुनासो छ।
उहाँले राज्य, बैंक र घरधनीबीच समन्वय गरेर भाडा र ब्याजमा सहुलियत दिनुपर्ने माग गर्नुभएको छ। व्यवसायी शान्ति उपाध्यायका अनुसार भूकम्प, नाकाबन्दी र आन्दोलनले लामो समयदेखि व्यापार प्रभावित छ। व्यापार घटे पनि हरेक दुई वर्षमा घरभाडा करिब २० देखि ४० प्रतिशतसम्म बढ्ने गरेको उहाँको भनाइ छ।
उहाँका अनुसार व्यवसायी न व्यापार छाड्न सक्ने न खर्च धान्न सक्ने अवस्थामा छन्। अर्का व्यापारी नरेश कटुवालले बैंकमा पैसा थुप्रिए पनि कर्जा लिने प्रक्रिया झन्झटिलो रहेको बताउनुभएको छ। उहाँले कर्जा प्रक्रिया सहज बनाउन नेपाल राष्ट्र बैंक र सरकारले पहल गर्नुपर्ने बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


