मुस्ताङमा रैथाने बाली फापर भित्र्याउन किसान व्यस्त

मुस्ताङका किसान अहिले रैथाने बाली फापर काटेर घर भित्र्याउने काममा व्यस्त छन्। असार महिनामा छरिएको फापर असोजको अन्तिम साताबाट कात्तिकको दोस्रो सातासम्म भित्र्याइन्छ। छरेको करिब १०० दिनमा यो बाली पाक्ने गरेको छ।
मङ्सिरमा लगाएको उवा र जौ थन्क्याएपछि फापर छर्ने चलन रहेको घरपझोङ गाउँपालिका–५ ठिनीकी किसान सविता थकालीले बताउनुभएको छ। समुद्र सतहबाट करिब २,००० देखि ५,००० मिटरसम्मको उचाइमा यो बाली लगाइन्छ। जिल्लाका पाँचै स्थानीय तहमा, थासाङ–१ टुकुचेदेखि लोमान्थाङका सीमावर्ती गाउँसम्म फापर उत्पादन हुन्छ।
उवा, जौ, मकै, आलु र बोडीसँगै फापर पनि मुस्ताङको पहिचान बनेको छ। किसानले बिक्रीका साथै घरमा खान र देश–विदेशका आफन्तलाई कोसेली पठाउन फापर लगाउने गरेका छन्। ठिनीकै अर्का किसान अमित थकालीका अनुसार घरलाई चाहिने अन्न छुट्याएर बाँकी फापर बेच्ने गरिएको छ।
स्याउ बगैँचाभित्रको खाली जमिनमा पनि फापर लगाइएको उहाँको भनाइ छ। सडक सञ्जाल पुगेपछि रैथाने अन्न बेच्न सहज भएको उहाँले बताउनुभएको छ। फापरको पिठोबाट ढिँडो र रोटी बनाइन्छ, जुन मुस्ताङ आउने पर्यटकको रोजाइ बन्न थालेको छ।
स्थानीय चाडपर्वमा पनि यसको पिठो प्रयोग हुन्छ। सहर बजारका भान्सा र होटलमा पनि फापरका परिकार मुख्य खानाका रूपमा पस्किन थालिएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


