टीकाको दोस्रो दिन पनि आशीर्वाद लिने क्रम जारी, असनमा एकादशीमै टीका लगाउने परम्परा

बडादसैँको टीकाको दोस्रो दिन आज एकादशीमा पनि मान्यजनबाट टीका र जमरा थापेर आशीर्वाद लिने क्रम जारी छ। देश तथा विदेशमा रहेका नेपालीले बुधबार हर्षोल्लासका साथ टीका लगाएका थिए। बुधबार विजयादशमीमा टीका थाप्न नभ्याएका सर्वसाधारण आज आफन्त र मान्यजनको घर पुगेका छन्।
हिजो घरमै टीका लगाएका कतिपय मानिस आज काठमाडौँबाहिरका आफन्तकहाँ गइरहेका छन्। बाहिरबाट पनि मानिसहरू राजधानी आइरहेका छन्। लामो र छोटो दूरीका सवारीसाधन पातलो रूपमा चलिरहेकाले काठमाडौँमा चहलपहल केही बढेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कोजाग्रत पूर्णिमासम्म नवदुर्गा भवानीको प्रसादस्वरूप टीका–जमरा लगाउन मिल्छ। केही ठाउँमा कुल परम्पराअनुसार दशमीको दिनमात्र टीका लगाइन्छ भने धेरैजसो क्षेत्रमा पूर्णिमासम्मै यो चलन कायम छ। आश्विन शुक्ल एकादशीलाई पापाङ्कुशा एकादशी पनि भनिन्छ, र वैष्णव परम्परामा यस दिन भगवान् विष्णुको पद्मनाभ रूपको पूजा गर्ने धार्मिक मान्यता छ।
काठमाडौँको असनमा भने त्यहाँका रैथाने तुलाधर, शाक्य र बज्राचार्य समुदायले दशमीमा नभई आज एकादशीमा टीका लगाउने परम्परा छ। अन्नपूर्ण जात्रा एकादशीमा पर्ने भएकाले उनीहरूले यो दिनलाई ‘असं चालं’ का रूपमा मनाउँदै आएका छन्। असनमा खड्ग जात्रा निकालेपछि प्रायः टीका थाप्ने चलन छ।
कोजाग्रत पूर्णिमाको राति महालक्ष्मी पूजासँगै बडादसैँ सकिन्छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


