भक्तपुरमा तलेजुको सेतो घोडा जात्रा र थिमिमा खाँ पिहाँवइगु जात्रा सम्पन्न

भक्तपुरमा विजयादशमीको मध्यरातिदेखि सुरु भएको पायःद्यो अर्थात् खड्ग जात्रा र तलेजुको वाहन सेतो घोडाको जात्रा आज एकादशीको बिहान सकिएको छ। दिनभर ब्रह्मायणी मन्दिरमा रहेका नवदुर्गा भवानीका देवगण राति नगरका टोल परिक्रमा गर्दै दरबार स्क्वायर पुगेका थिए। परम्पराअनुसार त्यहाँ बहिनी ब्रह्मायणीले दिदी तलेजु भवानीको दर्शन गरी ढोगेपछि मन्त्रसिद्धि गरिन्छ।
त्यसपछि नवदुर्गा राति नै देवगृहतर्फ फर्केका छन् भने जगन्नाथ मन्दिरको परिक्रमापछि तलेजुलाई देवगृहमा भित्र्याएर बिहानीपख जात्रा टुङ्गिएको छ। तलेजुका पूर्वमूल नाइके नरेन्द्रप्रसाद जोशीका अनुसार मध्यराति तलेजुको आगम घरबाट तान्त्रिक विधिअनुसार खड्ग हस्तान्तरण भएपछि जात्रा सुरु हुन्छ। राजोपाध्यायले पायःद्योलाई काँधमा बोकेर मूलचोकबाट बेको चोक पुर्याएपछि सर्वसाधारणले दर्शन र पूजा गर्न पाउँछन्।
यता मध्यपुरथिमिमा बिहीबार खाँ पिहाँवइगु जात्रा मनाइँदा मल्लकालीन युद्धकला प्रदर्शन गरिएको छ। तत्कालीन राजदरबार रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट यो जात्रा निकालिन्छ। दरबारसँग जोडिएका विभिन्न समुदाय सहभागी हुने जात्रामा गुठियारले जामा पहिरेर खड्ग, ढाल र तरबारसहित टोलटोलमा युद्धकला देखाएका छन्।
जात्रा माथिल्लो टोलतर्फ इनाएटोल र दुईपोखरी हुँदै दिगु भैरवसम्म तथा तल्लो टोलतर्फ दथुटोल हुँदै बालकुमारीसम्म पुग्ने परम्परा छ। नवमीमा तलेजु भवानीलाई चढाइएको बलि, कोतभित्रका देवता र दरबारको राजदण्डसमेत नगर परिक्रमामा सामेल गराइन्छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


