२९ असोज २०८३ English
English

युथ टेबलटेनिस: एभीएमका रुबिन र इभानालाई स्वर्ण

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
युथ टेबलटेनिस: एभीएमका रुबिन र इभानालाई स्वर्ण

YouTube मा सब्स्क्राइब

नेपाल युथ टेबलटेनिस च्याम्पियनसिपमा एभीएम टेबलटेनिस क्लबका रसिन महर्जन र इभाना थापाले बुधबार स्वर्ण पदक जितेका छन्। महर्जनले यु–२१ बालक र थापाले यु–२१ बालिका एकलमा उपाधि हात पारेका हुन्। काठमाडौँको लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको बालक एकलमा नेपाल प्रहरीका गनन्जय दाहाल दोस्रो भएका छन्।

भिजन टेबलटेनिस क्लबका समिर खत्री र यल टेबलटेनिसका रिजन शाक्यले तेस्रो स्थान पाएका छन्। बालिका एकलमा एभीएमकै वियंका राई दोस्रो तथा आस्मा पहरी र साइरा शाक्य तेस्रो भएका छन्। यु–१७ बालक एकलमा एभीएमका प्रज्ज्वल भट्टराईले स्वर्ण र यलका रिजन शाक्यले रजत जितेका छन्।

सोही स्पर्धामा स्ट्याग च्याम्पियन्स क्लबका निश्चल थापा र यलका रिभानमुनि वज्राचार्यले कांस्य पाएका छन्। आयोजक नेपाल टेबलटेनिस प्रालिका अनुसार दुई दिने प्रतियोगितामा ६ स्पर्धा भएका थिए। यसअघि साइरा शाक्यले यु–१३ र यु–१७ बालिका एकल तथा रिभानमुनि वज्राचार्यले यु–१३ बालक एकलमा स्वर्ण जितेका थिए।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकार र परिषद् कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठलगायतले पुरस्कृत गर्नुभएको छ। आयोजकका अनुसार प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख रुपैयाँ रहेको थियो।

स्रोत

सम्बन्धित समाचार