२९ असोज २०८३ English
English

चाडपर्व लक्षित: टोल–टोलमै सामाजिक सुरक्षा भत्ता वितरण

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चाडपर्व लक्षित: टोल–टोलमै सामाजिक सुरक्षा भत्ता वितरण

YouTube मा सब्स्क्राइब

दसैँलाई लक्षित गर्दै पूर्वी पहाडका दुई गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता लाभग्राहीको वडा र टोलमै पुगेर वितरण गरेका छन्। पाँचथरको हिलिहाङ गाउँपालिकाले करिब २ हजार २ सय लाभग्राहीलाई तीन महिनाबापत प्रतिव्यक्ति करिब १२ हजार रुपैयाँ दिएको जनाएको छ। असोज २१ गते वडा नम्बर १ बाट थालिएको वितरण सात दिनभित्र सबै वडामा सकिएको गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले बताउनुभएको छ।

बैङ्कका कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई वडा कार्यालयमै खटाइएको थियो। हिँडडुल गर्न कठिन ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई बजारसम्म पुग्न समय र खर्च लाग्ने समस्या टार्न यो तरिका अपनाइएको हो। खोटाङको साकेला गाउँपालिकाले असोज २२ देखि नेपाल एसबिआई बैङ्कको साकेला शाखासँग मिलेर वडास्तरमा भुक्तानी शिविर चलाएको थियो।

शिविरमार्फत करिब ७९५ लाभग्राहीले आफ्नै टोलमा भत्ता बुझेको सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङ राईले जानकारी दिनुभएको छ। गाउँपालिकाले बैङ्किङ प्रणालीमार्फत कुल करिब ९५ लाख ७७ हजार रुपैयाँ वितरण गरेको छ, जसमध्ये करिब ७० प्रतिशत लाभग्राहीले आफ्नै वडाबाट भत्ता लिएका छन्। सबैभन्दा बढी करिब ३८ लाख ९० हजार रुपैयाँ वडा नम्बर १ बाँझेच्यानडाँडामा बाँडिएको थियो।

शिविरमा पुग्न नसकेका लाभग्राही बैङ्क शाखामै गएर रकम बुझिरहेका छन्। नागरिकले सरकार खोज्दै कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्न शिविर चलाइएको अध्यक्ष रविप्रकाश राईले बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार