१४ असोज २०८३ English
English

घासा–कोरला सडकमा दुवैतर्फी यातायात सुरु, तातोपानी नाकामा सडक अवरोध नभएको

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
घासा–कोरला सडकमा दुवैतर्फी यातायात सुरु, तातोपानी नाकामा सडक अवरोध नभएको

YouTube मा सब्स्क्राइब

घासा–कोरला सडकमा पहिरो हटाइएपछि दुवैतर्फी सवारी आवागमन सुरु भएको सडक विभागले जनाएको छ। पछिल्लो वर्षा र बाढीपहिरोले सडक तथा पुल क्षतिग्रस्त हुँदा चीनसँगको कोरला नाका बन्द भएको थियो। विभागका अनुसार मुस्ताङ–बेनीबीच विभिन्न ठाउँमा सडक बगेको छ र त्यहाँ भित्तो काटेर टेवा पर्खाल लगाइँदैछ।

यो खण्डमा बिहीबार साँझसम्म यातायात सुचारु गर्ने लक्ष्य छ। बेनी–जोमसोम सडकको तातोपानी क्षेत्रको कटान बुधबार साँझसम्म र पोखरेबजार पुलको पहुँचमार्ग बिहीबार साँझसम्म बनाइसक्ने तयारी छ। राहुघाट जलविद्युत् आयोजना नजिकको सडक कटान पनि मर्मत गरिँदैछ।

नेपाल–चीनबीचका तीन प्रमुख नाकामध्ये रसुवागढी नाका भदौको बाढीले बगाएको छ भने सिन्धुपाल्चोकको तातोपानी नाका चिनियाँ पक्षले एकतर्फी रूपमा बन्द गरेको छ। चिनियाँ पक्षले नेपालतर्फको सडकको अवस्थालाई कारण देखाएको छ। तर सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीले तातोपानी नाका सञ्चालनमा नेपालतर्फको सडक बाधक नभएको बताउनुभएको छ।

परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार कार्यालय, सडक विभाग, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, सुरक्षा निकाय र चिनियाँ टोली सम्मिलित संयुक्त टोलीले पहिरो प्रभावित खण्डको अनुगमन गरेको छ। भण्डारीका अनुसार वर्षायाममा पनि यो सडकमा एकतर्फी सवारी चलिरहेको थियो। उहाँका अनुसार करिब तीन–चार दिनभित्र सडकलाई दुईतर्फी सञ्चालन गर्न सकिन्छ।

स्रोत

सम्बन्धित समाचार