टीकापुरमा करोडौँ खर्चेर बनाइएको बायोग्यास प्लान्ट खण्डहर

कैलालीको टीकापुर नगरपालिका–५ स्थित गौशालामा करिब एक करोड ६० लाख रुपैयाँ खर्चेर बनाइएको बायोग्यास प्लान्ट सञ्चालनमा नआउँदा जीर्ण बनेको छ। छाडा चौपायाको गोबरबाट ग्यास निकालेर करिब ५५ विपन्न परिवारलाई पाइपमार्फत घरमै पुर्याउने लक्ष्यसहित यो प्लान्ट बनाइएको थियो। आर्थिक वर्ष २०७६/७७ मा सुरु भएको आयोजनामा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नगरपालिकाको संयुक्त लगानी थियो।
केन्द्र सरकारले करिब ६५ प्रतिशत र नगरपालिकाले करिब ३५ प्रतिशत रकम बेहोरेका थिए। निर्माणको ठेक्का काठमाडौँको नेपाल ऊर्जा विकास कम्पनीले पाएको थियो। नियमित ग्यास नपाएपछि बायोग्यास चलाउन थालेका उपभोक्ता फेरि एलपी ग्यास र दाउरामा फर्किएका छन्।
मर्मत नहुँदा प्लान्टका फलामे संरचनामा खिया लागेको छ भने इन्जिनसहितका उपकरण बिग्रिँदै गएका छन्। टीकापुर गौशालाका अध्यक्ष उत्तमकुमार शाहले सम्बन्धित निकायले संरक्षणमा ध्यान नदिँदा प्लान्ट खण्डहर बन्न थालेको बताउनुभएको छ। प्लान्ट गौशालालाई हस्तान्तरण गरे संरक्षण सजिलो हुने उहाँको भनाइ छ।
सञ्चालनको जिम्मेवारी कसको हो भन्ने स्पष्ट नहुँदा समस्या लिएर कहाँ जाने भन्ने अन्योल रहेको पनि अध्यक्ष शाहले बताउनुभएको छ। शाहका अनुसार नगरपालिकाले यसअघि प्लान्टका लागि करिब पाँच लाख रुपैयाँ बजेट छुट्याएको थियो। नगरपालिकाले उपभोक्ताबाट प्रतियुनिट करिब ४५ रुपैयाँ महसुल लिने कार्यविधि बनाएको थियो, तर स्थानीयले उक्त दर महँगो भएको गुनासो गर्दै आएका थिए।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो