रास्वपा प्रवेशको भोलिपल्टै सरावगीको सदस्यता खारेज गर्न पर्सा कमिटीको माग

वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगी राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपामा प्रवेश गरेको भोलिपल्टै उहाँको सदस्यता खारेज गर्न पार्टीको पर्सा जिल्ला सचिवले माग गर्नुभएको छ। रास्वपा पर्साका सचिव सुदीप प्रजापतिले शुक्रबार पार्टी महामन्त्रीलाई सम्बोधन गर्दै पत्र पठाउनुका साथै प्रेस विज्ञप्ति जारी गरेर यो माग अघि सार्नुभएको हो। जिल्ला पार्टीलाई कुनै जानकारी नदिई सदस्यता दिइएको र त्यसमा जिल्लाका पार्टी पंक्तिको असहमति रहेको पत्रमा उल्लेख छ।
पत्रको बोधार्थ पार्टीका संगठन प्रमुख प्रमोद न्यौपानेलाई पठाइएको छ। सचिव प्रजापतिका अनुसार पीआरएस १ ख ०००४३५७७६ नम्बरको सदस्यता बिहीबार पार्टीको अनलाइन पोर्टलमार्फत सरावगीका नाममा जारी भएको थियो। सरावगीले सोही दिन फेसबुकमार्फत नेकपा एमालेका सबै जिम्मेवारी र साधारण सदस्यतासमेत त्यागेको घोषणा गर्नुभएको थियो।
यसअघि एमालेको निर्वाचित केन्द्रीय सदस्य रहनुभएका सरावगीले एमालेमा अपेक्षित सहयोग नपाएपछि नयाँ राजनीतिक यात्रा रोजेको बताउनुभएको छ। उहाँले उम्मेदवार बन्ने लक्ष्यले नभई सामान्य सदस्यका हैसियतमा रास्वपामा आएको र तत्काल चुनाव लड्ने योजना नभएको स्पष्ट पार्नुभएको छ। उहाँको दल परिवर्तनपछि वीरगञ्जको स्थानीय राजनीतिमा चर्चा बढेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


