सशस्त्रका एसपीसँग विवादमा परेका गड्डाचौकीका भन्सार अधिकृत जिम्मेवारीबाट हटाइए

भन्सार विभागले कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयका भन्सार अधिकृत चक्रदेव भट्टलाई तत्कालका लागि कार्यालयको जिम्मेवारीबाट अलग गरेको छ। सशस्त्र प्रहरी बल ३४ नम्बर गण कैलालीका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीसँगको विवादबारे बुझ्न विभागले भट्टलाई त्रिपुरेश्वरमा रहेको विभागमै हाजिर हुन पत्र पठाएको छ। अर्थमन्त्री डा.
स्वर्णिम वाग्लेको निजी सचिवालयले पनि यसबारे जानकारी दिएको छ। कञ्चनपुर भन्सारबाट जाँचपास भएको भारतीय नम्बर प्लेटको एउटा गाडी सशस्त्र प्रहरीले अत्तरियाबाट नियन्त्रणमा लिएपछि दुवै अधिकारीबीच विवाद चर्किएको थियो। एसपी केसीले सामानको मूल्य कम देखाइएको आशंकामा गाडी रोकेको बताएका थिए।
गाडी नछोडे गृहमन्त्रीदेखि प्रहरी महानिरीक्षकसम्म फोन गर्ने भन्दै भट्टले केसीलाई दबाब दिएको भनिएको अडियो केही दिनअघि सार्वजनिक भएको थियो। विभागले भट्टमाथि अहिलेसम्म कुनै अन्तिम कारबाही नगरेको र घटनामा को दोषी वा निर्दोष भन्ने निष्कर्ष ननिकालेको जनाएको छ। थप बुझेपछि आवश्यक प्रक्रिया अघि बढाइने विभागले उल्लेख गरेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


