सरकारले यस वर्षको दसैँमा खसीबोका नबेच्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले च्याङ्ग्रा पनि ल्याउने छैन। उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल भने खुल्नेछ।

सरकारले यस वर्षको दसैँमा सहुलियत मूल्यमा खसीबोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजेट अभावका कारण खसीबोका खरिद प्रक्रिया अघि नबढाएको हो। कम्पनीका सूचना अधिकारी माधव मिश्रले यस वर्ष खसीबोका खरिदका लागि बजेट विनियोजन नभएको बताउनुभएको छ।
हरेक वर्ष दसैँलाई लक्षित गर्दै उपत्यकामा सहुलियत दरमा खसीबोका बिक्री हुँदै आएको थियो। खसीबोका नबेचे पनि उपभोक्तालाई राहत दिन कम्पनीले सुपथ मूल्य पसल भने सञ्चालनमा ल्याएको छ। भदौ २८ गतेदेखि देशभरका करिब ४४ जिल्लाका करिब १९३ स्थानमा यस्ता पसल सञ्चालन भइरहेका छन्।
यी पसलमा चामल, दाल, तेल, चिनी र नुनलगायतका दैनिक उपभोग्य सामग्री बिक्री भइरहेका छन्। यसका साथै चिनो, कागुनो, फापर र सिमीलगायतका स्थानीय उत्पादनसमेत सुपथ मूल्य पसलमा उपलब्ध गराइएको छ। उपभोक्ताले यी पसलबाट दैनिक उपभोग्य वस्तु खरिद गर्दा प्रतिवस्तु करिब ५ रुपैयाँसम्म छुट पाउने व्यवस्था गरिएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


