९ असोज २०८३ English
English

बाढीले बगाएर ल्याएका लकरका धनी खोज्दै प्रहरी

· १ मिनेट पढाइ
बाढीले बगाएर ल्याएका लकरका धनी खोज्दै प्रहरी
तस्बिर: अनलाइनखबर

भोटेकोसी र त्रिशूली नदीको बाढीले बगाएर नुवाकोट र रसुवाका विभिन्न ठाउँमा पुर्‍याएका लकर तथा दराजका धनीलाई प्रहरीले प्रमाणसहित सम्पर्क गर्न आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार विदुर नगरपालिकाका ३ फरक स्थानमा २ थान लकर र लकर जडित १ थान दराज फेला परेको छ। पहिलो सामग्री भदौ १९ गते विदुर नगरपालिका–१ को ढुङ्गेमा भेटिएको थियो।

त्यसपछि भदौ ३० गते विदुर नगरपालिका–३ को बुधसिंहघाटमा र भदौ ३१ गते उही वडाको छत्रेखोला दोभानमा अरू सामग्री भेटिएका हुन्। नुवाकोट प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार भेटिएका लकर बैंक, वित्तीय संस्था वा ठूला व्यापारिक प्रतिष्ठानले प्रयोग गर्ने आकारका छन्। मालिक पहिचान हुन नसकेकाले दाबी गर्ने व्यक्ति वा संस्थाले आवश्यक प्रमाण लिएर प्रहरी कार्यालयमा आउनुपर्ने उहाँले बताउनुभएको छ।

सोमबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुबेँसीमा पनि १ थान लकर भेटिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। उक्त लकरमाथि दाबी गर्दै अहिलेसम्म कोही पनि रसुवा प्रहरीको सम्पर्कमा आएको छैन।

यो समाचार भिडियोमा

बाढीले बगाएर ल्याएका लकरका धनी खोज्दै प्रहरी

स्रोत

सम्बन्धित समाचार