९ असोज २०८३ English
English

म्यानपावर कम्पनीलाई विदेश पठाइएका श्रमिक र कारोबारको विवरण बुझाउन निर्देशन

· १ मिनेट पढाइ
म्यानपावर कम्पनीलाई विदेश पठाइएका श्रमिक र कारोबारको विवरण बुझाउन निर्देशन
तस्बिर: अनलाइनखबर

वैदेशिक रोजगार विभागले विदेश पठाइएका नेपाली श्रमिकको अवस्थाबारे विवरण असोज २१ गतेभित्र बुझाउन म्यानपावर कम्पनीहरूलाई निर्देशन दिएको छ। विभागले गत असारमै इजाजतपत्र प्राप्त संस्थालाई प्रत्येक ३ महिनामा यस्तो विवरण बुझाउन भनेको थियो, नयाँ निर्देशन त्यसैको ताकेता हो। निर्देशनअनुसार प्रत्येक श्रमिक गन्तव्य मुलुकमा सुरक्षित पुगे-नपुगेको जानकारी कम्पनीले १५ दिनभित्र लिनुपर्ने छ।

सम्झौताअनुसारको काम, तलब र सुविधा पाए-नपाएको विवरण पनि कम्पनीले श्रमिकसँग सम्पर्क गरेर सङ्कलन गर्नुपर्ने छ। श्रमिकको अधिकार, हित र सुरक्षालाई ध्यानमा राखेर सङ्कलित विवरण विभागको अनुगमन शाखामा बुझाउनुपर्ने विभागले जनाएको छ। निर्देशन पालना नगर्ने कम्पनीलाई वैदेशिक रोजगार ऐन, २०६४ अनुसार कारबाही गरिने चेतावनी विभागले दिएको छ।

यसैबीच मलेसियाको एफडब्लूसीएमएस प्रणालीमा मुख्य कम्पनी बनेका २५ म्यानपावरसँग विभागले विगत ५ आर्थिक वर्षको कारोबारसहित व्यावसायिक र वित्तीय विवरण मागेको छ। ऐनको दफा ३४ र नियमावलीअनुसार कामदार, सेवा शुल्क, कर र लेखापरीक्षणसम्बन्धी अभिलेखसहित कारोबारको विस्तृत विवरण १५ दिनभित्र पेस गर्न भनिएको छ। मलेसियामा श्रमिक पठाउने प्रक्रियामा केही कम्पनीलाई मुख्य र अरूलाई सबएजेन्ट बनाइएको विषयमा विवाद चलिरहेका बेला विभागले यो कदम चालेको हो।

यस व्यवस्थाले प्रतिस्पर्धा घटाउने र सिन्डिकेट जन्माउने आशङ्का गर्दै सरकारले कूटनीतिक पहलसमेत सुरु गरेको छ।

स्रोत

सम्बन्धित समाचार