चट्टान खस्दा हुम्लाको हिल्सा–सिमकोट सडक अवरुद्ध

कर्णाली कोरिडोरअन्तर्गतको हुम्लाको हिल्सा–सिमकोट सडकखण्डको छारे भागमा चट्टान खसेपछि यातायात अवरुद्ध भएको छ। चट्टानले बाटो छेकिएपछि हुम्लाबाट सुर्खेत र नेपालगन्ज जोड्ने यातायात ठप्प भएको सर्केगाड गाउँपालिका–२ का ताराबहादुर कार्कीले बताउनुभएको छ। स्थानीयवासी पैदल हिँडेर समेत सदरमुकाम सिमकोट पुग्न कठिन भएको उहाँले जनाउनुभएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खडकाका अनुसार सडक खुलाउने काम सुरु भइसकेको छ। दुई दिनदेखि अवरुद्ध सडकमा एक्स्काभेटरबाट पन्छाउने काम भइरहेको उहाँले जानकारी दिनुभएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ। देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको र उत्तर अन्डमन सागर आसपास न्यून चापीय क्षेत्र बनेको विभागले उल्लेख गरेको छ। भोलि कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा यस्तै वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान छ।
वीरेन्द्रनगरमा आज तापक्रम २७ देखि २९ डिग्री सेल्सियससम्म रहने र वर्षाको सम्भावना ४० प्रतिशत रहेको विभागको प्रक्षेपण छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


