९ असोज २०८३ English
English

भोटेकोशी–त्रिशूली विपद् र हिमाली जलवायु परिवर्तन अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन

· १ मिनेट पढाइ
भोटेकोशी–त्रिशूली विपद् र हिमाली जलवायु परिवर्तन अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन
तस्बिर: रातोपाटी

हिमालमा जलवायु परिवर्तनको असर र भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न प्रतिनिधिसभाले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ। सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राख्नुभएको प्रस्तावलाई सदनले सर्वसम्मतिले पारित गरेको छ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि संसदले यो पहल गरेको हो।

यसअघि सोमबारै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विशेष समितिको संरचना, कार्यावधि र कार्यदिशाबारे सदस्यहरूले सुझाव दिएका छन्। सभामुख अर्यालका अनुसार प्रभावित नागरिकलाई पुनर्स्थापित गर्न, दिगो रूपमा पुनर्निर्माण गर्न, भावी जोखिम घटाउन, कानुनी र संस्थागत सुधार गर्न तथा जलवायु न्याय सुनिश्चित गर्न राज्यले अपनाउनुपर्ने बाटो समितिले सिफारिस गर्नेछ। हिमाली तापक्रम, हिमपात, हिमनदी, हिमताल र जलाधारमा आएको परिवर्तनसम्बन्धी अध्ययन र तथ्याङ्कको समीक्षा पनि समितिको जिम्मामा छ।

विपद् कसरी सुरु भयो, तत्कालको कारण के थियो र जोखिम चर्काउने तत्त्व के–के थिए भन्नेबारे समितिले विज्ञ र वैज्ञानिक प्रमाणका आधारमा अध्ययन गर्नेछ। जलवायु परिवर्तनसँगको सम्भावित सम्बन्ध, सीमापारको जलाधारबाट परेको प्रभाव र तल्लो तटीय क्षेत्रमा परेको असर पनि समितिले केलाउनेछ। अध्ययनका आधारमा समितिले प्रतिवेदन तयार पारी सरकारलाई नीतिगत सुझाव दिनेछ र यसका लागि ३ महिनाको समय तोकिएको छ।

सांसदहरू अच्युतम लामिछाने, गणेश पराजुली, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलियालगायत समितिका सदस्य छन्। समितिको पहिलो बैठकले सदस्यमध्येबाट सभापति चयन गर्ने सभामुख अर्यालले बताउनुभएको छ।

यो समाचार भिडियोमा

भोटेकोशी–त्रिशूली विपद् र हिमाली जलवायु परिवर्तन अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन

स्रोत

सम्बन्धित समाचार