अनेरास्ववियुमा विवाद: महासचिवको सर्कुलरविरुद्ध पाँच पदाधिकारी

एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनभित्रको विवाद सार्वजनिक भएको छ। संगठनका पाँच केन्द्रीय पदाधिकारीले महासचिवले हालै निकालेको सर्कुलरलाई अवैधानिक र स्वेच्छाचारी भन्दै कडा आपत्ति जनाएका छन्। आपत्ति जनाउनेमा उपाध्यक्ष विकास श्रेष्ठ र उपमहासचिव कमल जोशीसँगै सचिवहरू आकाश घर्ती, समिम बाबु खान र गोपाल नेपाल छन्।
उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सर्कुलर संस्थागत निर्णयविपरीत आएको दाबी गरेका छन्। विज्ञप्तिअनुसार असोज २२ गते आरआर क्याम्पसमा केन्द्रीय पदाधिकारी बैठक बसेको थियो, जसको अध्यक्षता अध्यक्ष दीपक धामीले गरेका थिए। बैठकमा पार्टी केन्द्रीय सदस्य तथा विद्यार्थी इन्चार्ज रश्मि आचार्य प्रमुख अतिथि हुनुहुन्थ्यो।
पाँच पदाधिकारीका अनुसार महासचिवले सो बैठकको सहमति बेवास्ता गर्दै आफूखुसी सर्कुलर निकालेका हुन्। उनीहरूले निर्वाचित पदाधिकारीलाई हटाइएकोमा विरोध जनाएका छन्। त्रुटि सच्याउन छिट्टै विधिसम्मत पदाधिकारी बैठक बोलाइने उनीहरूले जनाएका छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

