आईटीयू दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ आनन्दराज खनाल

नेपाली दूरसञ्चार विज्ञ आनन्दराज खनाल अन्तर्राष्ट्रिय दूरसञ्चार संघ, आईटीयूको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुख बन्नुभएको छ। आईटीयूको दूरसञ्चार विकास ब्युरोले उहाँलाई नयाँदिल्लीस्थित क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुखमा नियुक्त गरेको हो। खनालले असोज १५ गतेदेखि नयाँ पदको कार्यभार सम्हाल्नुभएको छ।
संयुक्त राष्ट्रसंघअन्तर्गतको आईटीयूको यो कार्यालयले भारत, नेपाल, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, अफगानिस्तान र इरान गरी ८ देश हेर्छ। भारत सरकारसँगको सहकार्यमा खोलिएको यो कार्यालयले सन् २०२३ मार्चदेखि काम थालेको हो। कार्यालयले डिजिटल रूपान्तरण, पूर्वाधार विकास, क्षमता अभिवृद्धि र नवप्रवर्तनका क्षेत्रमा सहयोग गर्दै आएको छ।
खनालसँग दूरसञ्चार नियमन, सार्वजनिक नीति, साइबर सुरक्षा र डिजिटल पूर्वाधारमा तीन दशकभन्दा लामो अनुभव छ। उहाँ नेपाल दूरसञ्चार प्राधिकरणको वरिष्ठ निर्देशक पदबाट अवकाशप्राप्त हुनुहुन्छ। प्राधिकरणमा उहाँले १५ वर्षभन्दा बढी समय उच्च नेतृत्व तहमा काम गर्नुभएको थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

