सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा न्यायाधीशका लागि प्रस्ताव गरिएका चारै जनाको नाम शनिबार अनुमोदन गरेको छ। सिंहदरबारमा बसेको बैठकले डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई अनुमोदन गरेको हो, जसको घोषणा समितिका सभापति बोधनारायण श्रेष्ठले गर्नुभएको छ।
न्यायपरिषद्ले असोज २० गतेको बैठकबाट उहाँहरूलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो। बागचन्द उच्च अदालत पोखरामा कार्यरत हुनुहुन्थ्यो भने बाँकी तीन जना उच्च अदालतका मुख्य न्यायाधीश हुनुहुन्छ। समितिले बिहीबार उहाँहरूविरुद्ध परेका १३ वटा उजुरीमाथि छलफल गर्दै उजुरीकर्ता र प्रस्तावित न्यायाधीश दुवैलाई बोलाएको थियो।
त्यसपछि शुक्रबार र शनिबार गरी दुई दिन संसदीय सुनुवाइ भएको हो। सुनुवाइपछि समितिले न्यायपरिषद्को सिफारिसलाई योग्य ठहर गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएपछि चारै जनाको नियुक्ति पूरा हुनेछ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

