९ असोज २०८३ English
English

नेकपाको असोज १५ देखि दुई महिने जनअभियान, महाधिवेशन मंसिरमा नहुने

· १ मिनेट पढाइ
नेकपाको असोज १५ देखि दुई महिने जनअभियान, महाधिवेशन मंसिरमा नहुने
तस्बिर: नागरिक

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आउँदो असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने भएको छ। मंगलबार काठमाडौंको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसंयोजन समितिको पाँचौं बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अध्यक्षता गर्नुभएको थियो भने सहसंयोजक माधवकुमार नेपालले सञ्चालन गर्नुभएको थियो।

अभियान केन्द्रीय तहदेखि गाउँ, वडा र टोल–टोल हुँदै घरदैलोसम्म पुग्ने पार्टी प्रवक्ता प्रकाश ज्वालाले बताउनुभएको छ। अभियानमा संगठन निर्माण, जनवर्गीय संगठनको समायोजन तथा सदस्यता वितरण र नवीकरणलाई प्राथमिकता दिइनेछ। यसको विस्तृत कार्ययोजना दसैंअघि बस्ने केन्द्रीय सचिवालय बैठकले तय गर्ने जनाइएको छ।

यसअघि मंसिरमा महाधिवेशन गर्ने कार्यतालिका ल्याइए पनि देशमा आएको विपद्का कारण कार्यान्वयनमा बाधा परेपछि महाधिवेशन र मातहतका अधिवेशनबारे सचिवालय बैठकले नै निर्णय गर्ने ज्वालाले बताउनुभएको छ। बैठकले वाम एकताका लागि देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति पनि गठन गरेको छ। समितिमा प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ सदस्य हुनुहुन्छ।

रसुवाको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा पार्टी पङ्क्ति परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ। महँगी, भ्रष्टाचार र सुकुम्बासीको समस्यालाई लिएर सरकारविरुद्ध आन्दोलन अघि बढाउने निष्कर्ष बैठकले निकालेको छ। जनअभियानपछि आवश्यकताअनुसार संसद र सडक दुवै माध्यम प्रयोग गरिने जनाइएको छ।

यो समाचार भिडियोमा

नेकपाको असोज १५ देखि दुई महिने जनअभियान, महाधिवेशन मंसिरमा नहुने

स्रोत

सम्बन्धित समाचार