२९ असोज २०८३ English
English

एनसीएचएलको साधारण सभा: १५ प्रतिशत बोनस सेयर, सहायक कम्पनी खोल्ने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एनसीएचएलको साधारण सभा: १५ प्रतिशत बोनस सेयर, सहायक कम्पनी खोल्ने

YouTube मा सब्स्क्राइब

नेपाल क्लियरिङ हाउस लिमिटेड, एनसीएचएलको पन्ध्रौँ वार्षिक साधारण सभाले सेयरधनीलाई बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ। बुधबार काठमाडौँमा भएको सभाले वित्तीय क्षेत्रका लागि प्रविधि र सफ्टवेयर विकास गर्ने छुट्टै सार्वजनिक लिमिटेड कम्पनी खोल्न सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ। प्रस्तावित सहायक कम्पनीले बैंक, वित्तीय संस्था र भुक्तानी प्रविधिमा अनुसन्धानसँगै सफ्टवेयर बनाउने र जडान गर्ने काम गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार बोनस सेयर वितरणपछि एनसीएचएलको चुक्ता पुँजी करिब १ अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ। बढेको पुँजी राष्ट्रिय भुक्तानी प्रणाली, अन्तरदेशीय कारोबारका थप भुक्तानी प्रणाली, डिजिटल सार्वजनिक पूर्वाधार र जोखिम व्यवस्थापन सुदृढ गर्न प्रयोग गरिने विज्ञप्तिमा उल्लेख छ। सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गरेको छ।

कम्पनीका अनुसार गत आर्थिक वर्षमा एनसीएचएलका प्रणालीमार्फत करिब २१० खर्ब रुपैयाँ बराबरका झन्डै २४ करोड कारोबार राफसाफ भएका छन्। सोही अवधिमा कम्पनीको खुद नाफा करिब ४१ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षभन्दा झन्डै २ प्रतिशतले कम हो। कम्पनीका अनुसार एनसीएचएलमा नेपाल राष्ट्र बैंकको करिब साढे ९ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरूको बाँकी स्वामित्व छ।

स्रोत

सम्बन्धित समाचार