बूढीगण्डकी खतराको तहभन्दा माथि: मुग्लिङसम्म उच्च जोखिम, ६ जिल्लालाई सतर्क रहन आग्रह

गोरखाको आरूघाटस्थित नदी मापन केन्द्रमा बूढीगण्डकी नदीको पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ। त्यसपछि गोरखासहित ६ जिल्लाका नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। बूढीगण्डकी नदी सिउरेनीटारमा त्रिशूलीमा मिसिन्छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार मुग्लिङसम्म उच्च जोखिम छ। महाशाखाले चितवन र नवलपरासी आसपासका बासिन्दालाई पनि सतर्क रहन भनेको छ। मौसम विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार बाढी तीन चरणमा तल्लो क्षेत्रतर्फ बढिरहेको छ। आरूघाटमा दोस्रो चरणको बाढीले खतराको तह पार गरेको छ। बासिन्दालाई साँझसम्म सतर्क रहन आग्रह गरिएको छ।
गृहमन्त्री सुधन गुरुङले सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरूघाट क्षेत्रका बासिन्दालाई तुरुन्त सुरक्षित ठाउँमा जान र सतर्क रहन आग्रह गरेका छन्। उद्धारका लागि हेलिकप्टर परिचालन भइसकेको उनले बताएका छन्।
यसैबीच स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय बनाइएको छ। स्वास्थ्य सहयोग चाहिएमा १११५ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


