बूढीगण्डकी बाढी: चुमनुब्रीका ३५ घर बगे, उद्धारका लागि हेलिकप्टर परिचालन

गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ। गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा पनि व्यापक क्षति भएको छ। चुमनुब्री–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खसेर थुनिएको नदी फेरि बग्न थालेपछि बाढी आएको प्रहरीले जनाएको छ।
बाढीपछि चार जनाको अवस्था अज्ञात रहेको छ। गाउँपालिका अध्यक्ष लामाले भने पाँच जना सम्पर्कविहीन रहेको बताएका छन्। बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पुल, न्याक्चेत र फिलिम बजार जोड्ने पुल, माछीखोला पुल र दोभानको बेलीब्रिज बगाएको छ। सल्लेरीमा रहेको जलविद्युत आयोजनाको क्याम्प भवन पनि बगेको छ।
गृह मन्त्रालयले उद्धारका लागि हेलिकप्टर परिचालन गरेको छ। नेपाली सेनाको हवाई र पैदल टोली पनि प्रभावित क्षेत्रमा खटिएको छ। स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय बनाइएको छ।
जोखिमका कारण आरुघाट बजार खाली गराइएको छ र प्रहरीले माइकिङ गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र पश्चिमका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाका अनुसार नदी थुनिने र खुल्ने क्रम जारी छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

