२४ कात्तिक २०८३ English
English

काँकडभिट्टा नाकाबाट असोजमा झन्डै एक अर्बको अलैँची निर्यात

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
काँकडभिट्टा नाकाबाट असोजमा झन्डै एक अर्बको अलैँची निर्यात

YouTube मा सब्स्क्राइब

झापाको काँकडभिट्टा नाकाबाट गत असोज महिनामा मात्र झन्डै ९९ करोड रुपैयाँ बराबरको अलैँची भारत निर्यात भएको छ। मेची भन्सार कार्यालयका सूचना अधिकारी माङ्कल राईले दिएको जानकारीअनुसार उक्त महिनामा करिब ५ लाख ४२ हजार किलोग्राम अलैँची निकासी भएको हो। सोही अवधिमा करिब ४९ करोड ५५ लाख रुपैयाँ मूल्यको झन्डै १७ लाख १६ हजार किलो चिया भारत पठाइएको छ।

करिब ४४ करोड २३ लाख रुपैयाँ बराबरको झन्डै १ लाख १८ हजार किलो प्लाइउड पनि बाहिरिएको भन्सार कार्यालयले जनाएको छ। झापा, इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादित अलैँची, चिया र प्लाइउड पूर्वी नेपालका प्रमुख निकासी वस्तु हुन्। औद्योगिक उत्पादनतर्फ करिब २९ करोड ८५ लाख रुपैयाँ मूल्यको झन्डै २० लाख ८१ हजार किलो फलामे पाता निर्यात भएको छ।

करिब ८ करोड ९६ लाख रुपैयाँ बराबरको झन्डै १३ लाख १९ हजार किलो अम्रिसो भारत पुगेको राईले बताउनुभएको छ। कुकुर र बिरालोको आहाराका रूपमा प्रयोग हुने झन्डै ४७ हजार किलो छुर्पी पनि निर्यात भएको छ, जसको मूल्य करिब ८ करोड ९५ लाख रुपैयाँ छ। यस्तै, करिब ४ करोड ८३ लाख रुपैयाँ बराबरको झन्डै ४८ हजार किलो सुकुटी अर्थात् सुकाएको मासु भारत पठाइएको छ।

स्रोत

सम्बन्धित समाचार