महानवमीमा भक्तपुरमा खःमेय् जात्रा, पाटनमा खड्ग जात्रा

भक्तपुरमा महानवमीको अवसरमा मंगलबार साँझ परम्परागत खःमेय् व्वाकेगु अर्थात् राँगो दौडाउने जात्रा सम्पन्न भएको छ। दैत्य महिषासुरको प्रतीक मानिने कालो राँगोलाई नवदुर्गा द्योछेंबाट ब्रह्मायणी पीठसम्म दौडाएर लगिन्छ। संस्कृतिविद्हरूका अनुसार महानवमीमा त्रिपुरासुन्दरी नवदुर्गा भवानीका रूपमा प्रकट हुने धार्मिक मान्यतासँग यो जात्रा जोडिएको छ।
यसलाई मोहनी नखाःको प्रमुख जात्रामध्ये एक मानिन्छ। जात्रा व्यवस्थापन गर्ने संस्थाका सल्लाहकार नारायणमान बनमालाका अनुसार यसपालिको जात्रा अघिल्ला वर्षभन्दा छिटो सकिएको छ। जात्रापछि ब्रह्मायणी मन्दिरमा मेला सुरु भएको छ, जहाँ दर्शनार्थी रातभर जुट्ने गर्छन्।
यता ललितपुरको पाटनमा पनि महानवमीमा पायः अर्थात् खड्ग जात्रा मनाइएको छ। मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठले बताएअनुसार बिहान ५ बजे मङ्गलबजारको मूलचोकबाट खड्ग लिएर महालक्ष्मी मन्दिरमा पूजा सुरु गरिएको थियो। पूजापछि देवगण र गुठियारले प्राचीन तरबार बोकेर नगर परिक्रमा गर्दै मूलचोक फर्किएका थिए।
घटस्थापनादेखि सुरु हुने यस जात्राको मुख्य रौनक अष्टमी र नवमीमा देखिन्छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

