मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई जनही एक लाख प्रोत्साहन

मुगुको छायाँनाथ रारा नगरपालिकाले अन्तरजातीय विवाह गरेका दुई जोडीलाई प्रोत्साहनस्वरूप एक–एक लाख गरी कुल दुई लाख रुपैयाँ प्रदान गरेको छ। नगरप्रमुख विष्णुकुमार भाम र उपप्रमुख ऐश्वर्य मल्लले बिहीबार नगरपालिकामा भएको कार्यक्रममा दुवै जोडीलाई चेक हस्तान्तरण गर्नुभएको छ। नगरपालिकाको दलित ऐन, २०८० अनुसार यो रकम उपलब्ध गराइएको हो।
जातीय विभेद र छुवाछूत अन्त्य गर्दै सामाजिक समानता र सद्भाव बढाउने लक्ष्यसहित नगरपालिकाले यो व्यवस्था लागू गरेको हो। रकम पाउनेमा विक्रमबहादुर नेपाली र पवित्रा चौलागाईं तथा मानसिंह नेपाली र सरिता सेजुवाल हुनुहुन्छ। दुवै जोडी नगरपालिकाका झाकोट र थार्प गाउँका बासिन्दा हुनुहुन्छ।
सबै नागरिकले समान अधिकार र सम्मानसहित बाँच्न पाउने वातावरण बनाउनुपर्नेमा नगरप्रमुख भामले जोड दिनुभएको छ। जातीय विभेद हटाउन कानुनी व्यवस्थासँगै मानिसको सोचमा पनि परिवर्तन आवश्यक रहेको उपप्रमुख मल्लको धारणा छ। नगरप्रमुखका अनुसार नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ देखि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।
नगरपालिकाको तथ्याङ्कअनुसार हालसम्म नगरभित्र चार जोडीले अन्तरजातीय विवाह गरेका छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

