ट्रम्प प्रशासनले ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द गर्यो

अमेरिकी विदेश मन्त्रालयका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा ३ लाखभन्दा बढी भिसा रद्द भएका छन्। मन्त्रालयका प्रवक्ता टोमी पिगोटले मंगलबार सामाजिक सञ्जाल एक्समा यो विवरण सार्वजनिक गर्नुभएको हो। उहाँका अनुसार इतिहासमा अन्य कुनै पनि प्रशासनले यति तीव्र गतिमा भिसा रद्द गरेको थिएन।
सन् २०२५ जनवरीमा कार्यकाल सुरु भएदेखि अगस्ट १० सम्म रद्द भिसाको सङ्ख्या १ लाख ७५ हजारभन्दा बढी रहेको मन्त्रालयकै अघिल्लो विवरणमा उल्लेख थियो। पछिल्ला केही सातामा रद्द गर्ने गति तीव्र भएको रोयटर्सले जनाएको छ। कानुन तोड्ने, ठगी गर्ने वा राष्ट्रिय सुरक्षामा खतरा पुर्याउने विदेशीप्रति कुनै सहनशीलता नअपनाइने प्रशासनको भनाइ छ।
आप्रवासन नियन्त्रण र देशनिकाला अभियानले आन्तरिक सुरक्षा सुधार्ने ट्रम्पको दाबी छ। मानवअधिकारकर्मीहरूले भने यो कदमले उचित कानुनी प्रक्रिया र अभिव्यक्ति स्वतन्त्रताको हनन गरेको आरोप लगाएका छन्। गाजामा इजरायली आक्रमणको विरोध गर्ने प्यालेस्टाइन समर्थक विदेशीको भिसा खारेजीप्रति उनीहरूले विशेष चिन्ता जनाएका छन्।
जातीय आधारमा मानिसलाई निशाना बनाइएको आरोप पनि उठेको छ। भिसा जाँचमा कडाइ गरिएकाले कानुनी बाटोबाट अमेरिका जान चाहने विदेशीसमेत प्रभावित हुन सक्ने चिन्ता व्यक्त भएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


